
काठमाडाैं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनताले चाहेको संविधान जारी भएर एक कार्यकाल पूरा भइसकेकाे छ ।
तर पनि मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा आशा जगाउने अवस्था अझै नभएको इन्सेकले निष्कर्ष निकालेको हाे । मानव अधिकार वर्ष पुस्तक २०२२ बारे बोल्दै इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले संविधानले दिएको मौलिक हकको उपयोग र प्रत्याभूतिले यो वर्ष पनि निराशाजनक रहेको बताउनुभयो ।
आइतबार काठमाडौंमा मानवअधिकार वर्ष पुस्तककाे बारेमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष डा. अर्यालले जघन्य अपराधको घटना कम नहुनु र अभियोजनको दर नबढेकाले मानवअधिकारको प्रत्याभूतिमा समेत २०२२ निराशाजनक रहेको बताउनुभयो । राज्यको मुख्य ३ अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई बलियो बनाउन राजनैतिक दल जिम्मेवार नबन्दा मानवअधिकार उल्लंघनका घटनामा कमी हुन नसकेको निष्कर्ष इन्सेकले निकालेको बताउनुभयो ।
राजनीतिक दलका कारण संसद, सरकार र न्यायालय एकै पटक नकारात्मक रुपमा प्रभावित भएको बताउनुभयो । अध्यक्ष अर्यालले हालै सम्पन्न भएको निर्वाचन अपेक्षित रुपमा स्वच्छ र निष्पक्ष हुन नसकेको पनि बताउनुभयो । अझैपनि मतदातालाई डराएर मत लिने प्रवृत्ति हट्न नसकेको बताउनुभयो ।
उहाँले अपराधको शिकार भएका पीडित भएका व्यक्ति र परिवारहरु न्यायको पहुँचमा पुग्न नसकेको र यो अवस्था झनै बढेर गएको तथ्यांकले देखाएको बताउनुभयो ।
संविधानले दिएको अधिकार स्पष्ट कानून भएको अवस्थामा पनि अपराधी उम्कने र पीडितले न्याय नपाउने अवस्थाको दर घट्नुको साटो बढीरहेको बताउनुभयो । कमजोर आर्थिक अवस्था भएका दुर्गममा बस्ने व्यक्ति तथा परिवारको लागि न्यायमा पहुँच झनै टाढा हुँदै गएको तथ्य भेट्टाइएको पनि अध्यक्ष अर्यालले बताउनुभयो ।
न्याय प्राप्ति गर्ने प्रक्रियासम्म पनि जनता पुग्न नसक्ने अवस्थाले मानव अधिकारको रक्षा र प्रत्याभूतिमा सरकार चुकिरहेको समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्