
काठमाडौं । सरकारले देशका १५ जिल्लामा बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान सुरू गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा बिहीबारदेखि यो अभियान सुरु गर्न लागिएको हो ।
‘आम औषधि सेवा’ नाम दिएको यो अभियान फागुन १५ गतेसम्म चल्नेछ ।
प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्नेछन् ।
हात्तीपाइलेविरुद्धको औषधिले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधि खानुपर्दछ । दुई वर्षभन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खानु हुँदैन ।
नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले यो दर चार प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्