१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फोरजी सेवा गुणस्तर बनाएपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्तः मन्त्री शर्मा


143
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभ जी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा फाइभ जी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँच समेत पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । उहाँले फोर जी सेवा विस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामा समेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागत अनुसार प्रतिफल भए, नभएको विषयमा अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न सकेनौं भने लाभ भन्दा नोक्शानी बढ्नसक्नेतर्फ सचेत हुन आवश्यक रहेको पनि बताउनुभयो । मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गर्नुभयो ।

उहाँले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवा समेत नपुगेको बताउनुभयो । उहाँले विभिन्न निकुञ्ज र जङ्गलको क्षेत्र समेत इन्टरनेट र फोनको पहुँच बाहिर रहेको भन्दै जङ्गलको बाटोमा यात्रा गर्दा जनावरको आक्रमण भएमा सूचना दिन फोन नलाग्ने र नेट नै नचल्ने समस्या रहेको बताउनु भयो । उहाँले सम्बन्धित निकायहरुलाई सबैभन्दा पहिला सबै भू-भागमा टेलिकमको सामान्य सेवाको पहुँच पुर्याउन निर्देशन दिनुभयो । मन्त्री शर्माले उपत्यकाको धेरै स्थानमा समेत सामान्य सेवा नपुगेको, हाईवेका धेरै ठाउँमा फोन नलाग्ने र टावर नै नआउने अवस्था रहेको बताउनुभयो ।

उहाँले फाइभ जी अघि सरकारले ठूलो लगानी गरेर फोरजीको पूर्वाधार तयार गरेपनि त्यो लगानी खेर जाने स्थिति रहेको बताउनुभयो । उहाँले फोरजी राम्रोसँग नचल्दै फेरि फाइभजीमा लगानी गर्दा सरकारी लगानी खेर जाने अवस्था आउनसक्ने बताउनुभयो । उहाँले विश्वमा आविष्कार भएको नयाँनयाँ प्रविधि आत्मसात गर्दै गर्दा उपभोक्ता र नेपालीको व्यक्तिगत विवरण सुरक्षा ग्यारेन्टीमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । नयाँ प्रविधि लागू गर्दा देशको अवस्था र विगतको लगानीलाई हेररे गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले फाइभजी सेवा अपेक्षा अनुसार नभएर पनि परीक्षण सुरु भएको बताउनुभयो । उहाँले सरकार,नियमन निकाय र आम उपभोक्ताहरुले सोचेको जस्तो नभएको गुनासो गर्नुभयो । उहाँले फाइभ जी सेवा परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । खनालले फाइभ जी प्रयोगकर्ताले परीक्षण गर्नुपनि परीक्षणको एउटा पाटो भएको बताउनुभयो।

उहाँले प्राधिकरणले नेपालमा फाइभ जी ल्याउँदा हुने फाइदाहरुको विषयमा अध्ययन गरिरहेको बताउनुभयो । उहाँले राज्यले लगानी गरे अनुसार कस्तो प्रतिफल आउने विषयमा अन्तिम रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो । नियमनकारी निकायले फाइभजी विषयमा सुक्ष्म रुपमा व्यवस्थापन नगर्ने सोच भएपनि अब सुक्ष्म रुपमा व्यवस्थापन गर्ने सोचमा पुगेको उहाँले बताउनुभयो ।