२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को ट्रेलर सार्वजनिक


871
Shares

एजेन्सी । भारतीय अभिनेत्री रानी मुखर्जीको आगामी फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरमा रानी एक आमाको भूमिकामा छिन्, जो आफ्नो कोखबाट खोसिएका दुई बच्चाका लागि पूरै देशसँग लडिरहेकी छन् । वास्तविक घटनामा आधारित भएर बनेको फिल्मको ट्रेलरमा रानीको अभिनय र संवाद दमदार छ ।

फिल्ममा मिसेस चटर्जी (रानी) आफ्ना श्रीमान् र दुई सन्तानसँग भारत छोडेर नर्वेमा बस्दै आएको देखाइएको छ । त्यसपछि केही समयपछि बाल सुरक्षा सेवाका मानिसहरूले मिसेस चटर्जी खराब आमा रहेको भन्दै दुई सन्तानलाई उनीबाट टाढा लैजान्छन्।

यसपछि आफ्नो सन्तान पाउन उनले लडेको लडाई कसरी सुरु हुन्छ र पूरै देशको विरुद्ध उनी कसरी उभिन पुग्छिन् भन्ने ट्रेलरमा देखाइएको छ । फिल्ममा उनले आफ्ना सन्तानको लागि नर्वे र भारतको अदालतमा मुद्दा लडेको देखाइएको छ ।

मार्च १७ मा प्रदर्शन हुन लागेको फिल्ममा रानीका अलावा जिम सरभ, नीना गुप्ता र अनिर्बान भट्टाचार्यको पनि मूख्य भूमिका छ ।

फिल्मलाई आशिमा छिब्बरले निर्देशन गरेकी हुन् । जि स्टुडियो र एम्मे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा निखिल आडवाणी, मोनिषा आडवाणी र मधु भोजवानी छन् ।