
काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि शुक्रबार मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशित हुँदैछ ।
मतदाता नामावलीमा दाबी विरोध, उजुरी र छानविन पछि शुक्रबार अन्तिम नामावली सूची प्रकाशित गर्न लागेको हो ।
संघीय संसद र प्रदेश सभाका सदस्यहरु मतदाता रहने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८ सय ८१ मतदाता रहेका छन् ।
कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।
प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयल शुक्रबार मध्यान्ह १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्