
ताप्लेजुङ । प्रदेश नम्बर १ का खानेपानी, सिंचाई, तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युतको अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।
खाना पकाउनेदेखि सवारी साधनमा समेत विद्युतको प्रयोग बढाउन सके अर्थतन्त्रमा गुणात्मक रुपमा सुधार आउन सक्ने उहाँले बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले विद्युतिय उपकरणको प्रयोग र चार्जिङ स्टेशन विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा परेको स्पष्ट पार्नुभयो ।
विद्युतिय सवारी साधन र विद्युतिय चुल्होको प्रयोग बढाउन सके पेट्रोलियम पदार्थका लागि ठूलो रकम खर्च गर्न नपर्ने बताउनुभयो । आफ्नै देशमा हुने विद्युत खपतले अर्थतन्त्रमा सुधार हुनुका साथै यसले बातावरण स्वच्छ राख्न समेत मद्दत पुग्ने उहाँको भनाइ छ ।
विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि प्रदेशभरका जिल्लाहरुमा चार्जिङ स्टेशन विस्तार गर्ने योजनामा आफू रहेको समेत मेन्याङ्बोले बताउनुभएको छ ।
यस्तै, स्वच्छ तथा गुणस्तरीय खानेपानीको उपलब्धताका लागि समेत आफूले ध्यान दिएको मन्त्री मेन्याङ्बोले बताउनुभयो । गुणस्तरीय खानेपानीको विस्तारले नागरिकको स्वास्थ्यमा फाईदा पुग्ने भएकाले त्यस तर्फ ध्यान दिएको उहाँको भनाई छ ।
यस्तै, कुन कुन क्षेत्रमा खानेपानीको अभाव र मुहान उपलब्ध छ भन्ने कुराको तथ्यांक लिएर सोहि अनुसार प्रदेश सरकारले योजना बनाउने पनि उहाँले बताउनुभयो ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा प्रदेशको नामाकरण लगायतका विषय टुंग्याउन पनि हालको सरकार र संसद प्रयासरत रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्