
काठमाडौं । चलचित्रका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् ।
उनले उक्त घोषणा सञ्जय गुप्ताको पोडकास्टमा गरेका हुन् । उनले स्क्रिप्ट लेखनको काम सुरु नभए पनि चाँडै काम सुरु गर्ने तयारी भैरहेको बताएका छन् ।
‘कबड्डी’मा झाँक्रीको भूमिका समेत निर्वाह गरेका सुब्बाले भनेका छन्, ‘अर्को वर्ष ‘कबड्डी ५’ बन्छ नै । अहिलेसम्म चलचित्रको लागि भनेर काम सुरु त भएको छैन तर सुरु गर्ने तयारी चाहिँ भैरहेको छ । फाइनल म्याचबाट सोल्टिनीको पछाडि कुदेको काजीको पार्ट मात्र सकिदिएको हो । अब अर्को कथा सुरु हुन्छ । ‘कबड्डी ५’ मा काजी, छन्तेल र विके छुट्दैनन् । बाँकी पात्र चाहिँ सबै छुट्छन् ।’
चार सिक्वेल निर्माण भएको ‘कबड्डी’ को पछिल्लो सिक्वेल ‘कबड्डी द फाइनल म्याच’ केही अगाडी प्रदर्शन भएको थियो । चलचित्र प्रदर्शनको समय अर्को सिक्वेल नबन्ने प्रचार गरिएको थियो । तर, अहिले भने निर्माण हुने भनिएको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको ‘कबड्डी’का सबै सिक्वेलमा मुख्य पात्रको रुपमा दयाहाङ राई रहँदै आएका छन् । ‘कबड्डी ५’ पनि दयाहाङ मुख्य पात्रमा रहने सुब्बाले बताएका छन् ।
हाल प्रदर्शनरत चलचित्र ‘फूलबारी’मा पनि सुब्बाको पटकथा लेखन छ । उनले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘जारी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्