
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्नु भएको छ ।
बैठकले नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नेपाली कांग्रेसद्वारा प्रस्तावित उम्मेदवारलाई विजयी गराउन यो बैठक सबै राजनीतक दलहरु एवं राष्ट्रिय सभा र प्रदेश सभाका सबै सदस्यहरुलाई आग्रह गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो ।
उहाँले २०८० साल वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको बताउनुभयो । उहाँले उक्त उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
उहाँले उक्त उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्