
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो एक बजेर एक मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९’ सभासमक्ष पेस गर्नुहुनेछ ।
त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्