
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि प्रदेश सरकारहरूबाट बाहिरिने निर्णय गर्दा नेकपा (एमाले) नेतृत्वमा रहेको प्रदेश सरकारहरू धरापमा परेका छन् ।
प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकारहरू राप्रपाको समर्थनमा बनेकाले ती सबै प्रदेशका सरकारहरू अल्पमतमा पर्ने खतरा बढेको हो ।
६० सदस्यीय गण्डकी प्रदशे सभामा राप्रपाका दुई सांसद रहेका छन् । राप्रपासहित ३१ जना सांसदको विश्वासको मत पाउनु भएका मुख्यमन्त्री खगराज अधिकारी राप्रपाले समर्थन फिर्ता गर्नासाथ अल्पमतमा पर्नु हुनेछ ।
गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेका पञ्चराम गुरुङले आज राजीनामा दिने हुनुभएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा पर्नेछ । राप्रपा लुम्बिनीले समर्थन फिर्ता लिने विषयमा केन्द्रसँग सल्लाह गरिरहेको बताएको छ ।
राप्रपाका लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले सरकारबाट बाहिरिने वा बस्ने भन्ने विषयमा आइतबार टुंगो लाग्ने बताउनुभएको छ ।
यसैगरी, प्रदेश १ मा पनि राप्रपाले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री हिक्मत कार्कीको सरकार अल्पमतमा पर्ने छ ।
राप्रपाले शनिबार केन्द्रदेखि प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएका थिए ।
बाग्मती प्रदेश सरकारमा रहेका राप्रपाका मन्त्रीहरुले पनि सरकार छाडिसकेकाले अन्यत्र पनि सरकारबाट बाहिरिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्