
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘सेल्फी’ बक्स अफिसमा फ्लप भएको छ ।
करिब १५० करोडको लगानीमा बनेको यो फिल्मले पहिलो दिन निकै खराब प्रदर्शन गरेको थियो । दोस्रो दिन पनि फिल्मको अवस्था उस्तै रह्यो । गत वर्ष लगातार चार पटक फ्लप दिने अक्षयको यो वर्ष रिलिज भएको यो पहिलो फिल्म हो, र यो पनि फ्लप साबित भयो । योसँगै अक्षयको लगातार पाँचौं फिल्म फ्लप भएका छन् । अक्षयले हालै आफ्नो ब्याक टू ब्याक फ्लप फिल्मको बारेमा आफ्नो मौनता तोडेका छन्।
भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा अक्षयले आफ्नो फिल्म फ्लप पहिलो पटक नभएको बताए । उनले भनेका छन् , ‘मसँग यस्तो पहिलोपटक भएको होइन । मेरो करिअरमा यसअघि १६ वटा फ्लप फिल्म थिए । एक समय यस्तो पनि थियो जब मेरा ८ वटा फिल्म ब्याक टु ब्याक फ्लप भए ।’
अक्षय भन्छन्, ‘अहिले मेरो ३-४ फिल्म बक्स अफिसमा असफल भएको समय छ । यो सबैको पछाडि मेरो दोष छ । फिल्म नचल्नुमा मेरो गल्ती हो । अहिले दर्शकमा परिवर्तन आएको छ । यदि दर्शकको आवश्यकता परिवर्तन भएको छ भने हामिले पनि सोही अनुसार काम गर्नुपर्छ ।’
अक्षयको फिल्म ‘सेल्फी’ को कुरा गर्दा यसमा अभिनेता इमरान हाश्मी पनि मुख्य भूमिकामा रहेका छन् । फिल्म एक सुपरस्टार र फ्यानको कथामा आधारित छ । यो फिल्म साउथको सुपरहिट फिल्म ‘ड्राइभिङ लाइसेन्स’ को रिमेक हो ।
फिल्मले पहिलो दिन २ करोड ५५ लाख भारतीय रुपैयाँ कमाएको छ भने दोस्रो दिन फिल्मले केही बृद्धि गर्दै ३ करोड ३० लाख भारतीय रुपैयाँ कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्