१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बिमा गर्ने: मन्त्री गिरी


169
Shares

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम सुरु गरेको बताउनुभएको छ ।

सोमबार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दावी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताउनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताउनुभयो । उहाँले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताउनुभयो ।

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बिमा गर्ने तयारी अनुसार काम भइरहेको बताउनुभयो । उहाँले अहिलेको स्वास्थ्य बिमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी र सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताउनुभयो ।

उहाँले जस्तोसुकै दीर्घरोगीहरुको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको बताउनुभयो । उहाँले उत्कृष्टता स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको भन्दै बिमा गराउनेहरु घरदैलो गरेर बिमा गराउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने दावी गर्नुभयो ।

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृद्धि विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताउनुभयो ।

उहाँले ७ प्रदेशमा डायलसिस सेवाका लागि प्रतिक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो । मन्त्री गिरीले अबको ३ महिनाभित्र नै ७ प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दावी गर्नुभयो । स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको मन्त्री गिरीले बताउनुभयाे ।