२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एक वर्षपछि अभिनेता पल शाह जेल मुक्त


715
Shares

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) सोमबार जेल मुक्त भएका छन् ।

पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाई दिएकाले शाह सोमबार तनहुँ जिल्ला कारागारबाट छुटेका हुन् ।

पोखरा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार शाहको मुद्दामा प्रमाण नपुग्ने भन्दै सफाई दिएको थियो । गत वर्ष तनहुँ जिल्ला अदालतले शाहलाई कैद सजाय गर्ने निर्णय गरेकोमा उनी उच्च अदालत गएका थिए ।

नाबालिग एक गायिकाले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसको चार दिनपछि फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।