११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


स्थानीय तहको आर्थिक कारोबार पारदर्शी हुन सकेन, आयव्यय बुझाउनै आनाकानी


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीका ६ स्थानीय तहले गत आर्थिक वर्षको आयव्यय विवरण नबुझाएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले दिएको समयावधि सकिएको १ महिना बितिसक्दा स्थानीय सरकारले खर्च र राजस्वको विवरण बुझाउन आनाकानी गरेका हुन् ।

स्थानीय तहहरुलाई बजेट खर्च तथा राजस्व संकलनको विवरण बुझाउन साउन १५ को समयसीमा तोकिएको थियो ।

तर कैलालीका ६ स्थानीय तहले भने अझै सम्म पनि बुझाउन सकेका छैनन् ।

टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर  गाउँपालिका, चुरे गाउँलिका र कैलारी गाउँपालिकाले बजेटको खर्च र राजस्व संकलनाको विवरण नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालयले बताएको छ ।

उसो त स्थानीय तहलाई पटकपटक जानकारी नगराएको पनि होइन तर पनि कानमा तेल हालेजस्तै गरेर बसिरहेका छन् ।

लिखित पत्राचारसहित फोनमार्फत् सूचना दिँदा पठाउँछौं भन्ने जवाफ आएपनि विवरण अहिलेसम्म आउन नसकेको कोष नियन्त्रक तथा सूचना अधिकारी मदनराज पाण्डेले बताउँछन् ।

कैलालीमा १३ वटा स्थानीय तह रहेका छन । जसमध्ये सात स्थानीय सरकारले भने गत आर्थिक वर्षमा प्राप्त भएको बजेटको खर्च र राजस्व सङ्कलनको विवरण बुझाइ सकेका छन् ।

जिल्लाका आधाभन्दा बढी स्थानीय तहले सफ्टेवरमार्फत काम गरेकोले आयव्ययको विवरण बुझाइसकको र बाँकी आउने क्रममा रहेको प्रमुख कोष नियन्त्रक लक्ष्मीराज जोशीले बताए ।

विवरण बुझाइसकेका सात स्थानीय तहले गत आर्थिक वर्षको बजेट १ अर्ब ४० करोड ४७ लाख मध्ये १ अर्ब २८ करोड १७ लाख खर्च गरेका छन् ।

यसैगरी, उनीहरुको राजस्व सङ्कलन १६ करोड ७६ लाख ६४ हजार रुपयाँ रहेको छ ।

अन्य स्थानीय तहले पनि आफ्नो विवरण समयसीमाभित्रै बुझाएको भए कामको मूल्यांकन र आगामी योजना निर्माण गर्न सहयोग पुग्ने थियो ।

यस्तो प्रवृत्ति आगामी दिनमा पनि दोहोरिए यस्तै कुसंस्कार स्थापित नहोला भन्न सकिन्न ।