
हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
प्रदेश मुख्यमन्त्री शालिकराम जमकटेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले केहि दिन अघि हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक/एक लाख रुपैयाँका दरले राहत सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सभाको यही फागुन १३ गते बसेको बैठकमा सांसदहरुले मकवानपुरको मनहरी गाउँपालिकामा एक जना, बकैया गाउँपालिकामा एक जना र सिन्धुलीको कमलामाई नगरपालिकामा एक जना गरि ३ जनाको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो । मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउन सांसदहरुले प्रदेश सरकारलाई माग गरेका थिए ।
जंगली हात्तीको आक्रमणबाट मकवानपुरको मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्