
काठमाडौं । त्रिकोणात्मक प्रेमकथाको चलचित्र ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ ।
गोविन्द सिंह भण्डारी निर्देशित यस चलचित्र प्रमुख कलाकारहरू शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।
चलचित्रमा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक चलचित्र ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुन् । विवेक नेपालमा नेपाली कथा खोज्न मन पर्ने भएकाले ‘प्रेमा’ मा लगानी गरेको बताउँछन् ।
सन् ८० र ९० को दशकबीचमा हुर्किएका विवेकको सम्झनामा त्यो समयमा मनोरञ्जनका लागि धेरै विकल्प थिएनन् । विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफू तानिएको दाबी गर्छन् । उनले स्क्रिप्टपछि निर्देशक गोविन्दको काम गर्ने शैलीबाट आफू प्रभावित भएकाले पनि यस चलचित्रसँग जोडिएको बताए ।
विवेकलाई सबै जनराका चलचित्र मन पर्छ । त्यहीकारण उनी एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक चलचित्र हेर्न छुटाउँदैनन् । उनी राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न उत्साहित हुन्छन् ।
विवेकका अनुसार उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी गरिरहेका छन् । विवेक ‘प्रेमा’को कास्टिङ क्रु, स्क्रिप्ट, प्राविधिकसँग सन्तुष्ट छन् । आफ्नो चलचित्रको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् ।
विवेकले नेपाली फिल्म निर्माताले गुणस्तरीय चलचित्रमा ध्यान दिन सके नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन कुनै समस्या नहुने बताए ।
पछिल्लो समय विशेषत: गैर आवासीय नेपालीहरूले नेपाली चलचित्रप्रति चासो देखाइरहेकाले यसलाई चलचित्रकर्मीले अवसरका रुपमा लिनुपर्ने विवेकको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्