
एजेन्सी । ओस्कार अवार्ड २०२३ को केहि दिन अघि संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा फिल्म ‘आरआरआर’ को पुन: प्रदर्शन हुने भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाको एक थिएटरमा केही घण्टामै फिल्मका १६ सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।
यसको आधिकारिक घोषणा गर्दै फिल्मका निर्माताहरूले बिहीबार (मार्च २ मा ) लस एन्जलसमा विश्वको सबैभन्दा ठूलो स्क्रिनिङ हुने बताएका छन् । जानकारीका अनुसार फिल्मका मुख्य कलाकार रामचरण, जुनियर एनटीआर र निर्देशक एसएस राजामौली पनि स्क्रिनिङमा पुगेका छन् ।
फिल्म ‘आरआरआर’ को सामाजिक सञ्जाल ह्यान्डलले बुधबार ट्वीट गर्दै भनेको छ, ‘ बिहीबार ‘आरआरआर’ काे लस एन्जलसमा विश्वको सबैभन्दा ठूलो स्क्रिनिङको हुनेछ । १६४७ सिट भएको हल पहिले नै हाउसफुल भइसकेको छ ।’
ओस्कार अवार्ड २०२३ समारोहमा ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ को स्टेज परफॉर्मन्स पनि हुनेछ । गायक राहुल सिपलीगन्ज र काल भैरवले शाे मा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।
‘नाटु नाटु’ लाई ओस्करको लागि मनोनयन गरिएको छ । यस श्रेणीमा, ‘नाटु नाटु’ ले रिहाना, लेडी गागा, मित्स्की, डेभिड बायर्न र डियान वारेनसँग प्रतिस्पर्धा गर्नेछन् ।
विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ ।
प्रतिक्रिया दिनुहोस्