
एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जवान’ मा केमियो गर्न अस्वीकार गरेका छन् ।
शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले बक्स अफिसमा राम्रो कमाई गरेको छ । यो फिल्मले हालसम्मका सबै रेकर्ड तोडेको छ । अभिनेता सलमान खानले पठानमा केमियो गरेका थिए, जसका कारण फिल्मको चर्चा चुलिएको थियो ।
भारतीय सञ्चार माध्यमका अनुसार अल्लु फिल्म ‘जवानमा’ केमियो गर्ने तयारीमा थिए । तर, अहिले उनले फिल्ममा केमियो गर्न अस्वीकार गरेको खबर बाहिरिएको छ ।
अल्लु हाल आफ्नो आगामी फिल्म ‘पुष्पा द रुल’ मा निकै व्यस्त छन् । निर्माताले अल्लुलाई फिल्मको कथा पनि सुनाएका थिए र उनले काम गर्ने बताएका थिए । तर, व्यस्तताका कारण उनले फिल्ममा काम गर्न नसक्ने बताएका छन् ।
फिल्ममा दक्षिण भारतीय अभिनेत्री नयनतारा र अभिनेता विजय सेतुपतिको पनि मुख्य भूमिका रहेको छ । फिल्म २ जुन २०२३ मा रिलीज हुनेछ। फिल्म शाहरुखकी पत्नी गौरी खानले निर्माण गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्