१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ आजबाट प्रदर्शनमा


247
Shares

काठमाडौं । नेपाली दुई चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट एकसाथ प्रदर्शनमा आएका छन् ।

चलचित्र ‘छक्का पञ्जा ४’ ले समसामयिक राजनीतिको प्रवृत्तिलाई समेटेको छ । पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा दीपकको अलाव दीपा श्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्यको पनि महत्वपूर्ण भूमिकामा छन् ।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

यस्तै, ‘छड्के’ को सिक्वेल ‘२.० छड्के’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी मुख्य भूमिकामा देखिएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेको छ ।

मल्टिप्लेक्स हलमा ‘छड्के’ ले भन्दा ‘छक्का पन्जा ४’ ले बढी शो पाएको छ ।