१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी : प्रधानमन्त्री


52
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेका वनस्पतिहरुको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरू भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरु जोगाइराख्नुपर्ने आवश्यकता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्नखाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनिकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गर्नुभयो । उहाँले सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरु गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भारतले पनि नेपाललाई आयुर्वेदका औषधिहरु पाइने मुख्य थलोको रुपमा राखेको उल्लेख गर्दै नेपालका वनस्पतिहरुको संरक्षण संवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले यो महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्युनिकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताउनु भयो ।