
काठमाडाैं । सभामुख देवराज घिमिरेले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताउनुभएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले संसद र अन्य संघसंस्थाहरुमा पनि महिलाहरुको सक्रियता र सहभागिता बढिरहेको भएपनि सञ्चार माध्यमहरुले सोही अनुसार प्रचारप्रसार नगरेको बताउनुभयो ।
उहाँले आफू सभामुख भइसकेपछिका संसद बैठकमा पनि महिला सांसदहरुले शून्य र विशेष समयमा सक्रियता र सहभागिता उल्लेख्य देखाए पनि सञ्चारमाध्यमहरुले सक्रियताअनुसार प्रचार गर्न कन्जुस्याँई गरेको बताउनुभयो ।
सभामुख घिमिरेले सञ्चार माध्यमहरुले विशेष नेता र चर्चामा आएका विषय वस्तु बाहेकका समाचार नबनाएको बताउनुभयो । उहाँले संसदमा पनि उल्लेख्य महिला सहभागिता र सञ्चार माध्यमहरुको उपस्थिति नरहेको बताउनुभयो ।
सभामुख घिमिरेले संसदले संसदमा महिलाहरुका लागि अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी रहेको र त्यो निर्माण गर्नेगरी संसद सचिवालयसँग कुरा गरी महिलालाई मिडिया फ्रेण्डली बनाउन विभिन्न कार्यक्रम निर्माण गर्ने योजनामा आफू रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यमहरुले संसदको विषयवस्तुलाई महत्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्तै बढी ध्यान दिने गरेको गुनासो गर्नुभयो ।
सभामुख घिमिरेले सञ्चार माध्यमहरुले नेताहरु र शीर्षकमा केन्द्रित नभइ विषय वस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताउनुभयो ।
उहाँले संसद सुसञ्चालन गर्ने कुरामा आफू स्पष्ट रहेको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्