
काठमाडौं । लामो समय खडेरीका कारण यस पटक उदयपुरका किसानले मकै छर्न पाएका छैनन् ।
लामो समयसम्म आकाशबाट पानी नपर्दा किसानहरुले मकैखेती गर्न नपाएका हुन् ।
माघ महिनाको वसन्त पञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको सुरूको हप्तादेखि मकै छर्ने चलन छ । तर, अहिलेसम्म एकपटक पनि वर्षा नहुँदा किसानले खडेरीका कारण मकै लाउन समस्या भएको हो ।
मकैखेतीको मौसम सुरू भए पनि एकपटक पनि वर्षा नभएपछि समस्या भएको रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगरको दुःखेसो छ । सुक्खा बारी तथा खेतमा मकै छर्न पर्दा मकैको बिरुवा नै उम्रन कठिन हुने र परिश्रम मात्र खेर गएको उहाँको भनाइ छ ।
उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले खडेरीका कारण समयमा मकैखेती गर्न नपाएको र यस पटक भोकमरी लाग्ने बताउनुभयो ।
फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन् । विगत वर्षमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुने गरेको कारण जमिन भिज्ने गरेकाले मकैखेती गर्न सहज हुने गरे पनि यसपटक अहिलेसम्म वर्षा भएको छैन ।
प्रतिक्रिया दिनुहोस्