
काठमाडौं । शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि योग विज्ञान शिविर सञ्चालन गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ ले गरेको निःशुल्क शिविरमा १ सय बढी शारीरिक रुपले अशक्त व्यक्तिहरुले लाभ लिएका हुन् । नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रमा साता व्यापी रुपमा सञ्चालित शिविरमा पूज्या सादवी देवादितीले योग प्रशिक्षण दिनुभएको थियो ।
योगा अभ्यासबाट शारीरिक र मानसिक रुपमा मात्र नभई व्यक्तिमा आत्मविश्वास बढ्ने भएका कारण शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि योग शिविर आवश्यक रहेको जनाइएकाे छ ।
नेपाल अपांग संघका अध्यक्ष साम्देन लामाले एकै ठाउँमा कुञ्जिएर बस्नुपर्ने वाैद्धिक अपांगता भएका र शारीरिक रुपले अशक्तहरुको दैनिक जीवनमा योगको महत्व रहेको बताउनुभयो । उहाँले योगाबाट उर्जा र शरीरमा सकरात्मक प्रभाव पार्ने भएकाले समाजबाट पिछिडिएको समूहका लागि योगा दैनिकी बनाउनु पर्नेमा जोड दिनुभयो ।
उच्च रक्तचाप, स्वाश-प्रश्वास, मधुमेह, चिन्ता, थकानलाई कम गर्न योगको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । दैनिक रुपमा योगा गर्न पाउँदा शारीरिक रुपले अशक्त व्यक्तिहरुसमेत खुशी भएका छन् ।
उनीहरुले अपहेलित भएर सधै एकै ठाउँ बस्नु पर्ने बाध्यता योगा शिविरले हटाएको भन्दै नियमित गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्