
काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा शनिबार भारतको करुणा पुगेको छ ।
शुक्रबार धनुषाको औरहीमा विश्राम गरी शनिबार बिहानै परिक्रमामा सहभागी श्रद्धालु भक्तजन करुणा पुगेका हुन् । परिक्रमा यात्रीहरू १३ औं विश्रामस्थल करुणाबाट विशौल हुँदै पुनः जनकपुरधाम आइपुग्ने छन् ।
यहि फागुन ८ गतेबाट सुरु भएको परिक्रमा टिमको यात्रा भारतको कल्याणेश्वर हुँदै गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर र औरही हुँदै १३ औं दिन करुणा पुगेको हो । परिक्रमा यात्रीहरू करुणबाट विशौलको विश्वामित्र आश्रम हुँदै पुनः कल्याणेश्वर स्थानमा पुग्ने भएका छन् ।
कल्याणेश्वरबाट प्रस्थान गरेर परिक्रमा यात्रीहरू फागु पुर्णिमाका दिन जनकपुरधाम पुगेर अन्तरगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्दछन् । प्रत्येक विश्रामस्थलका छुट्टाछुट्टै धार्मिक एवं पौराणिक महत्व रहेको मिथिला महात्मयमा वर्णन गरिएको छ । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदल यात्रा तय गर्ने गरिन्छ ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास समेत रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्