१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

'माओवादी र उन्मुक्ति पार्टीले मत दिन नसक्ने भनेपछि सरकार पुनः धरापमा'

429
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गर्नुभएको हो । विश्वासको मतका लागि उहाँले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराउनुभएको थियो ।

यसअघि गठबन्धनबाट नेकपा (एमाले) का राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । तोकिएको समयमा रावलले विश्वासको मत नपाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । शाहले पनि मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीलगायत दल मिलेर सरकार बनाए पनि अन्तिम समयमा आएर माओवादी र नागरिक उन्मुक्तिले यथास्थितीमा मत दिन नसकिने बताएका छन् ।

५३ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४ र स्वतन्त्रका एक सदस्य छ्न् भने एमालेका १० र राप्रपाका एक गरेर विपक्षमा ११ मत रहेको छ ।

माओवादी र उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सुदूरपश्चिमको सरकार पुनः धरापमा पर्ने देखिएको छ ।