२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति चयनका लागि मतदान सुरू


572
Shares

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । बिहीबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुई वटा मतदान केन्द्र रहेको छ ।

संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ ले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो । त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् ।

संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । त्यस मध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् ।

राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार हुनुहुन्छ भने विपक्षी दल नेकपा (एमाले) एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि २०६५ साल साउन ८ गते डा. रामवरण यादव पहिलो राष्ट्रपति चुनिनु भएको थियो भने २०७२ कात्तिक ११ गते विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बन्नुभएको थियो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो ।