२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

राष्ट्रपति निर्वाचनको रौनक : सांसदहरू मतदानका लागि लाइनमा (तस्विरहरू)


780
Shares

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएकोमा मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसाल्नु भएको छ ।

त्यसपछि अन्य सांसदहरूले मतदान गरिरहनु भएको छ ।

मतदान गर्न प्रदेश तथा संघीय सांसदहरू लाइनमा बसेका छन् ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । संघीय संसदका सांसद र प्रदेश सभाका सांसदहरूलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार हुनुहुन्छ भने विपक्षी दल नेकपा (एमाले) एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ ।

तस्बिर : गृष्मा राजभण्डारी