
काठमाडौं । कांग्रेस माओवादी लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
सत्र पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा सफलता हात नलागेका पौडेललाई राष्ट्रपतिमा भने एकै पटकमा सफलता प्राप्त भएको छ । नौ दलीय गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेपछि सबै पार्टीसँग मत माग्न पौडेल ‘म्याराथन दौडमा’ लाग्नु भएको थियो । अन्ततः त्यसमा सफलता प्राप्त भएको छ ।
यस्तो छ पौडेलको राजनीतिक यात्रा
पौडेलको जन्म बिसं २००१ असोज २९ गते शनिबार तनहुँको साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८मा भएको हो । मध्यमवर्गीय किसान परिवारमा जन्मिनु भएका पौडेलको स्थायी बसोबास व्यास नपा–८, बेलथुम्की, तनहुँ हो भने हाल काठमाडौं महानगरपालिका वडानम्बर –१६ स्थित बालाजुको बोहोराटारमा बस्दै आउनु भएको छ । संस्कृत साहित्यमा शास्त्री र नेपाली साहित्यमा स्नातकोत्तर पास गर्नु भएका पौडेलको राजनीतिमा प्रवेश २०१६ सालबाट भएको हो । विसं २०१६ मा पोखरामा हिमालयन छात्र संघको स्थापनासँगै पौडेल राजनीतिमा होमिनु भएको हो । पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि बन्नु भएका पौडेल २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी बन्नु भएको थियो । पौडेल २०२३ सालमा गण्डकी छात्र संघको स्थापना गरेर संस्थापक अध्यक्ष बन्नु भएको थियो ।
२०२३ मै पौडेल सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँ २०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ बन्नुभयो । त्यसपछि कांग्रेसको पार्टी राजनीतिमा लाग्नु भएका पौडेल २०३४मा नेपाली काँग्रेस तनहुँको सदस्य र २०३६ मा जिल्ला उपसभापति बन्नुभयो । २०३७ मा पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक बन्नुभयो । पौडेल २०४० सालमा नेपाली कांगे्रसको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख बन्नुभएको थियो ।
उहाँ २०६२ देखि २०६४ सम्म कांग्रेको महामन्त्री बन्नु भएको थियो भने २०६४ देखि २०७२ सम्म कांग्रेसको उपसभापति हुनुभएको थियो । यसैगरी २०६४ देखि २०७० सम्म पौडेल कांग्रेस संसदीय दलको नेता बन्नु भएको थियो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पटक पटक गरेर पौडेल १६ वर्ष जेलमा बस्नु भएको थियो । नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि भएका संसदीय निर्वाचनमा एक पटक पराजित बाहेक पौडेलले अरु सबै निर्वाचनमा विजय हासिल गर्नुभएको छ । पौडेल २०४८ मा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०५१,२०५६,२०६४ र २०७० को निर्वाचनमा तनहुँ क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको थियो भने २०७९ मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०७४ को निर्वाचनमा भने पौडेल पराजित हुनुभयो । २०४८ मा पहिलोपटक पौडेल स्थानीय विकास मन्त्री नियुक्त हुनु भएको थियो । त्यसैगरी २०४९ देखि २०५१ सम्म स्थानीय विकास र कृषि मन्त्री बन्नु भएको थियो । पौडेल २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ मा उपप्रधान तथा सूचना÷सञ्चार र स्थानीय विकास मन्त्री बन्नु भएको थियो । त्यसैगरी २०५६ देखि २०५८ सम्म उपप्रधान तथा गृहमन्त्री हुनुभएको थियो । पौडेलले २०६१ देखि २०६२ सम्म शान्ति समितिको संयोजक भएर काम गर्नुभएको थियो भने २०६३ मा शान्ति तथा पुनःनिर्माण मन्त्री बन्नु भएको थियो । पौडेल २०६४ देखि २०७० सम्म कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बन्नु भएको थियो ।
पौडेलका गुण पनि दोष पनि
पौडेलका खास गुणहरू पनि छन् । पौडेल ७८ वर्षको उमेरमा पनि पार्टीमा खटिने नेतामा पर्नुहुन्छ । राष्ट्रपतिमा निर्वाचित हुनु अघि सम्म पनि यसलाई उहाँले निरन्तरता दिनुभयो । पौडेलमा कार्यकर्तालाई नामै सम्झेर बोलाउने बानी छ । राष्ट्रिय राजनीतिमा पनि सक्रिय पात्र हुन् पौडेल । पौडेलको जीवनशैली सबैका लागि लोभलाग्दो र प्रेरणादायी रहेको उहाँका समकक्षी र कांग्रेस नेताहरु बताउँछन् । पौडेलमा पार्टीको नीति र सिद्धान्तको स्पष्ट रूपमा कार्यकर्तालाई बुझाउन सक्ने क्षमता रहेको उनीहरुको भनाई छ । त्यसैले राष्ट्रपति निर्वाचित हुनु अघिसम्म पौडेललाई इमान्दार कार्यकर्ताको साथ रहेको थियो ।
कांग्रेसका संस्थापक वीपी कोइरालाले अघि सारेको नीति र सिद्धान्तमा पौडेल अडिग हुनुहुन्छ । पौडेललाई कांग्रेसमा कार्यकर्ताको संरक्षण नगर्ने, सानो चित्त र सानो कुरामा पनि लोभ गर्ने, कसैमाथि पनि विश्वास नगरेर सबैलाई अविश्वासले दृष्टिले हेर्ने नेताका रूपमा लिइने पनि गरिन्छ ।
कतिपय पौडेलका समकक्षीले पौडेलमा अरुका लागि भलो चिताउने गुण नभएकै कारण पछिल्लो समय कार्यकर्ता टाढिदै गएका बिश्लेषण गर्ने गर्थे । पौडेलले विभिन्न मान सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ । उहाँका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास,प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७,नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण,नेपाली कांग्रेस के भन्छ ?,आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५,नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५ लगायत विभिन्न कृतिहरु प्रकाशित छन् । नव निर्वाचित पौडेलका पिताको नाम दुर्गाप्रसाद पौडेल हो भने आमाको नाम ऋषिमाया पौडेल हो । नव निर्वाचित राष्ट्रपति पौडेलका परिवारमा श्रीमति सविता पौडेल, चार छोरी र एक छोरा रहेका छन् । लामो राजनीतिक यात्राकै क्रममा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल अब सबै नेपालीको अभिभावक बन्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्