
काठमाडौं । रौतहटमा दुई वर्ष अघि शिलान्यास भएको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको १५ बेडको भवन निर्माणको काम अझै सुरु भएको छैन ।
दुई वर्ष अघि कटहरियाका तत्कालीन नगर प्रमुख सियाराम कुश्वाहाले बिधिवत रुपमा शिलान्यास गरेको भए पनि भवन अझै निर्माण हुन सकेको छैन् । शिलान्यास लगत्तै १५ बेडको अस्पताल भवन निर्माण हुने सहमति अनुसार पुरानो जीर्ण रहेको डाक्टर तथा स्टाफ बस्ने भवन भत्काइएको थियो ।
संघीय सरकारको १९ करोड ७५ लाख रुपैयाँको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय, चौधरी जेविले ११ करोडमा सकार गरेको थियो । १५ सैंयाको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण अवधि २ वर्ष भित्र पुरा गर्ने चौधरी निर्माण सेवाका निर्देशक उपेन्द्र प्रसाद चौधरीको प्रतिबद्धता थियो ।
भवन निर्माणको अवधि सकिँदा समेत ठेकदार चौधरीले भवनको जग बाहेक अन्य काम अगाडि बढाएका छैनन् । भवन निर्माण हुने भनिएको स्थानमा ठुलो खाडल बनेको छ । पुरानो क्वाटर भवन भत्काएको कारण अस्पतालका डाक्टरलगायत कर्मचारीलाई बस्न समस्या भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिल कुमार साहले अस्पताल भवनको अभावमा बिरामीको उपचारमा समस्या हुनुका साथै कर्मचारीलाई बसोबासमा समस्या भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्