
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आइतबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आइतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारको उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरिने छ ।
शनिबार उम्मेदवारको मनोनयन दर्तापछि शनिबार नै उम्मेदवार विरुद्ध उजुरी दिन सकिने कार्यतालिका थियो ।
उपराष्ट्रपति पदका चार जना उम्मेदवार मध्ये जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवविरुद्ध दुई वटा उजुरी परेको छ । यादव विरुद्ध नेकपा (एमाले) र जनमत पार्टीले उजुरी हालेका हुन ।
एमालेले राष्ट्रपति र उपराष्ट्रपति एउटै लिंगको हुन नमिल्ने भन्दै यादव विरुद्ध उम्मेदवारी हालेको हो ।
यादव विरुद्ध जनमत पार्टीबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार दिनु भएकी ममता झाले पनि उजुरी दिनुभएको छ । झाले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल खस आर्य समुदायका पुरुष भएकाले उपराष्ट्रपतिमा सोही समुदायको र सोही लिंगको ब्यक्ति उम्मेदवार बन्न नपाउने जिकीर गर्नुभएको छ ।
रामसहायप्रसाद यादव विरुद्ध उजुरी पर्ने अनुमान गरेर जसपाले प्रमिला यादवलाई पनि उपराष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य र राष्ट्रिय जनमत पार्टीबाट ममता झाको पनि उम्मेदवारी रहेको छ ।
चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्