
काठमाडौं । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ ।
गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरू गरेको हो ।
मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट र दूरदराजका टोल र बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ ।
स्वास्थ्यमा सबैको समान पहुँचको मुल उद्देश्य राखिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ ।
डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्ने छ । उहाँले दीर्घरोगीहरुलाई खोजेर उपचार गर्न नसक्नेलाई गाउँमै पुगेर उपचार गरेको बताउनुभयो ।
उहाँले आफूहरुको अभियान हरेक हप्ताको शनिबार घरमै पुगेर उपचार गर्ने अभियान रहेको बताउनुभयो ।
घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रीत छ ।
इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्