
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर चलचित्र ‘बहाव’को पहिलो गीत सार्वजनिक भएको छ ।
आइतबार ‘यो मनरोग’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ ।
सार्वजनिक गीत चलचित्रकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको चलचित्र आगामी चैत २४ गतेबाट रिलिज हुँदै छ । चलचित्रको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।
अभिनेत्री सुरक्षाले जिज्ञासाका साथ जीवन जिउने व्यक्ति विभिन्न उतारचढावका परिस्थितिहरूबाट गुज्रिएको अवस्थामा त्यसबाट अघि बढ्दा आउने हलचललाई कसरी सन्तुलित रुपमा अगाडि बढाउन सकिन्छ भन्ने कथा देखाइएको बताइन् ।
फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वन्त्रता आफैमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्