
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘छक्का पञ्जा ४’मा समावेश सहकारी सम्बन्धी संवाद हटाउन माग गरेको छ ।
सहकारी सम्बन्धी उक्त संवाद हटाउन माग गर्दै सहकारी महासंघले चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ ।
अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको समूहले निर्माण गरेको उक्त चलचित्र दुई साता अगाडिबाट प्रदर्शनमा आएको थियो । चचित्रले हाल घरेलु बक्स अफिसमा मात्र नभएर विदेशमा पनि आक्रामक कमाई गरिरहेको छ ।
महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ सहकारी क्षेत्रको विश्वसनियतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौं ।’ निवेदनमा लेखिएको छ ।
चलचित्रमा महिलालाई भाग्ने सहकारीको रुपमा ब्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरुले आपत्ति जनाएका छन् ।
हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक, दीपासँगै बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्यलगाएतको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्