
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई ७–० ले हराउँदै सिटीले क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको सिटीले समग्रमा ८–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
आफ्नै मैदानमा सिटीलाई फराकिलो जीत दिलाउन नर्वेका स्ट्राइकर अर्लीङ ब्रट हाल्याण्डले पाँच गोल गर्दा केभिन डे ब्रायन र इल्केए गुन्डोगानले एक एक गोल थपे ।
खेलको २२ औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढाए ।
४९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ४–० ले अग्रता दिलाए । ५३ औं मिनेटमा हालान्डले व्यक्तिगत चौथो गोल गर्दै खेल ५–० ले अघि बढाए । ५७ औं मिनेटमा हालान्डले व्यक्तिगत पाँचौं तथा टोलीका लागि छैटौं गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रायनले गोल गर्दै सिटीलाई ७–० को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्