
काठमाडौं, असार ४ । सरकारले विपद् व्यवस्थापनमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको छ ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको विपद् व्यवस्थापन राष्ट्रिय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
उनले वर्षात्को समय भएकाले यसबेला हुनसक्ने सम्भावित विपद्लाई ख्यालगरी तयारी हालतमा रहन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश, स्थानीयतहलगायत सबै निकायलाई निर्देशन दिएको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
उनले विपद् व्यवस्थापनका लागि सबै प्रदेशमा संयन्त्र निर्माण गरिनेसमेत बताए ।
प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्र नेपालले बाढी–पहिरो, डुबान, भूकम्प, चट्याङ, आगोलागी, शीतलहर, हिमताल विस्फोट, हिमपहिरोबाट वर्षेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएको छ ।
वर्षेनि बाढी–पहिरो र डुबानबाट सयौं मानिसको मृत्यु र अर्बौं रुपैयाँ सम्पतिको क्षति हुने गरेको छ ।
प्रत्यक्षरुपमा गृह मन्त्रालयअन्तर्गत् विपद् व्यवस्थापन महाशाखा र सोअन्तर्गत्का शाखा सक्रिय छन् ।
राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्र, सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी गैरसरकारी निकायहरु विपद्का बेला सक्रियरुपमा परिचालन हुने गरेका छन् ।
केन्द्रीय, क्षेत्रीय, जिल्ला र स्थानीय दैवी प्रकोप उद्धार समिति पनि विपद्का बेला निकै सक्रिय हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्