
काठमाडौं । चैत ३ गतेपछि मुलुकले चौथो उपराष्ट्रपति पाउँदै छ । आठ दलीय गठबन्धनबाट राष्ट्रपतिको लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको लागि सहमति जुट्न सकेपनि उपराष्ट्रपतिको लागि भने साझा उम्मेदवार बनाउन सहमत हुन सकेनन् । उपराष्ट्रपतिको लागि गठबन्धनबाटै ३ जनाको उम्मेदवारी परेपछि चुनाव पेचिलो हुने देखिएको छ ।
गठबन्धनले उपराष्ट्रपतिमा जनता समाजवादीलाई समर्थन गर्ने निर्णय गर्दै रामसहाय यादव र प्रमिला यादव गरी २ जनालाई उम्मेद्वार उठाएको छ । तर गठबन्धनभित्रकै अर्को दल जनमत पार्टीले उपराष्ट्रपतिमा अर्कै उम्मेदवार ममता झालाई प्रत्याशी बनाएको छ । यस्तै, नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र मतभार राष्ट्रपतिको निर्वाचनमा जे छ उही नै हो । शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको निर्वाचनमा जस्तै संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरुले मतदान गर्नेछन् तर केन्द्र र प्रदेशका सांसदले दिएको मतभार भने बराबरी हुने छैन ।
दुई तहका सांसदहरुको मतभार छुट्टाछुट्टै निर्धारण गरिएको छ । संघीय संसदको एक जना सांसदले दिएको एक मतलाई ७९ मत र प्रदेशसभाका एक सांसदले दिएको मतलाई ४८ मत गणना गरिने छ । प्रतिनिधि सभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसदमा ३ सय ३४ सदस्य छन् ।
नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि अघिल्लो चुनावभन्दा मतभार कम हुने छ । सोही दलका सांसद टेकबहादुर गुरुङ निलम्बित हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद पनि खारेज हुँदा प्रतिनिधिसभाको २ सिट रिक्त छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८ सय ८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ । प्रतिनिधि सभाका हाल भएका २७३ र राष्ट्रिय सभाका ५९ सदस्य गरी कुल ३ सय ३२ संघीय संसदका सदस्य रहने छन् । प्रतिसांसद ७९ मतले हिसाब गर्दा केन्द्रीय संसदबाट उपराष्ट्रपतिलाई खस्ने कुल मत २६ हजार २ सय २८ हुन्छ । यस्तै प्रदेश सभाबाट ५९ सासंदलाई प्रति सांसद ४८ ले हिसाब गर्दा उपराष्ट्रपतिलाई खस्ने मत २६ हजार ४ सय छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी संघीय संसद्का ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६ सय २८ हुन्छ । उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानूनी व्यवस्था छ ।
उपराष्ट्रपति पदमा निर्वाचित हुन २६ हजार ३ सय १५ मत आवश्यक पर्छ । तर कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्