
काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । शुक्रबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
उपराष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टाछुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभाका ५५० र संघीय संसद्का ३३१ जना मतदाता रहेका छन् ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।
संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ ।
उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।
निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल शुक्रबार राति १२ बजेबाट सकिँदै छ । पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्