१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘भष्मे डन’ को आज शुभमुहूर्त


650
Shares

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने लागेको चलचित्र ‘पशुपति प्रसाद’ काे सिक्वेल ‘भष्मे डन’ को शुभमुहूर्त गरिएको छ ।

शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।

चलचित्रको शुभमुहूर्त समारोहमा चलचित्रका निर्देशकदेखि कलाकारसम्म उपस्थित थिए ।

चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगर अनुबन्धित छन् । चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, खनालले चलचित्रमा वर्षा ‘सरप्राइज’ रहेको बताए । शुभमुहूर्त समारोहमा वर्षा पनि उपस्थित भएकी थिइन् ।

आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।

आगामी बडा दशैंको फूलपातीबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर चलचित्र बन्नेछ ।

लेखक लामिछानेले चलिचत्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताएका छन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई चलचित्रमा प्रस्तुत गरिने बताइएको छ ।