१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यादव बने गणतन्त्र नेपालका तेस्रो उपराष्ट्रपति,यस्तो छ राजनीतिक यात्रा


3.185k
Shares

काठमाडौं । कांग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको मतदानमा यादव गठबन्धनबाटै उम्मेदवारी दिनुभएकी जनमत पार्टीकी ममता झा र प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पछि पार्दै गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित हुनुभएको हो । ३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित हुनुभएको हो । शाक्यले १६ हजार ३२८ मतभार ल्याउनु भएको थियो भने झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको थियो ।

यस्तो छ यादवको राजनीतिक यात्रा

उपराष्ट्रपतिमा निर्वाचित ५२ वर्षिय यादवको जन्म बिसं २०२७ सालमा बारा जिल्लाको हालको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ (तत्कालीन कथोर्वा गाबिस वडा नम्बर ८) मा भएको थियो । राजनीतिमा आउनु अघि यादव शिक्षक हुनुहुन्थ्यो । यादव २०४८ देखि २०६४ सम्म शिक्षण पेशामा रहनुभएको थियो । उहाँको राजनीतिक यात्रा भने २०५३ सालमा सद्भावना पार्टीबाट शुरु भएको थियो । पछि उहाँ मधेसी जनाधिकार फोरममा लाग्नुभयो र २०६४ को मधेश आन्दोलनमा सक्रिय सहभागी बन्नुभयो ।

यादव पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरम नेपालबाट बारा क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित हुनु भएको थियो । पार्टीमा रहँदा उहाँले बिभिन्न पदमा रहेर काम गर्नुभएको छ । २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनबाट उम्मेदवार बन्नु भएका यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सलस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ मा वन तथा वातावरण मन्त्री बन्नु भएको थियो । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि यादव बारा २ बाटै प्रतिनिधि सभाका निर्वाचित हुनुभएको थियो । यादव जसपाको संसदीय दलको नेता समेत हुनुहुन्छ । राजनीतिमा लाग्दा यादव पटक–पटक गरेर ५ पटकसम्म प्रहरी हिरासतमा रहनुभएको थियो । यादवले बीएड,बीएस्सीसम्मको अध्ययन गर्नुभएको छ ।

उहाँ उपराष्ट्रपतिमा निर्वाचित भएसँगै अब पार्टीको आवद्धता भने त्याग्नु पर्नेछ । यादवले अब सबैको साझा व्यक्ति भएर सह राष्ट्रध्यक्षको रुपमा उपराष्ट्रपति भवनमा प्रवेश गर्नुहुनेछ । उहाँ सांसद मन्त्री हुँदै पहिलो पटकमै उपराष्ट्रपति बन्नु भएको छ । उपराष्ट्रपतिका तीन जना उम्मेदवार भएपनि खसेको मतको बहुमत पाएर उहाँ एकैपटकमा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित उपराष्ट्रपति यादवको परिवारमा श्रीमति,दुई छोरा र एक छोरी रहेका छन् ।