
काठमाडौं । माओवादी सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुसार नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२/६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गरेका शहीदको विवरण राजपत्रमा प्रकाशित भएको हो ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो । ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित भएको छ ।
सूची अनुसार सबैभन्दा बढी रोल्पाका ७५३ जना सहिद रहेका छन् भने त्यसपछि क्रमशः दोस्रोमा रुकुमका ५८४ जना, तेस्रोमा कालिकोटका ४३३ जना रहेका छन् । सबैभन्दा कम शहीद रहेको जिल्लामा भक्तपुरका ६ जना, काठमाडौंका ७ र ललितपुरका १४ जना रहेका छन् ।
यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारहरूले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्