१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्‍यो चलचित्र ‘टुल्की’को प्रदर्शन


1.183k
Shares

काठमाडौं । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ को प्रदर्शन मिति हेरफेर भएको छ । यही चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब २ महिना पछाडि गर्दै आगामी जेठ १२ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको हो ।

चैत ३ गते प्रदर्शनको मिति तोके पनि प्राविधिक कारणले दुई महिनापछि चलचित्र प्रदर्शन गर्न लागिएको हो । ‘द पाल्म गुप्र प्रा.लि.’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो ।

देवजङ्ग थापाद्वारा निर्देशित चलचित्रमा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ ।

तारा थापा ‘किम्भे’को सम्पादन, संजिव सुब्बाको पार्श्व संगीत, लिगेश भट्टराई तथा रमेश बुढाथोकीको कोरियोग्राफी रहेको चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, सोम लामा, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ । यो चलचित्रलाई अभिनेत्री सुहाना थापाको त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ ।

चलचित्र ‘टुल्की’ ले नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ) –२०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो ।