१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी


273
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्व व्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतना मूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबै भन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताउनुभयो । उहाँले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दावी गर्नुभयो ।

गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम बचत नगरे पनि खर्च हुने भएको भन्दै बचत गर्न अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा वचतको रेट कमजोर रहेको जानकारी दिनुभयो । त्यस्तै गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताउनुभयो । उहाँले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेको समेत बताउनुभयो ।

आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस् भन्ने नारासहित सोमबारदेखि ग्लोबल मनी विक–२०२३ सुरू भएको छ । ग्लोबल मनी विकको यो एघारौं संस्करण हो । नेपाल राष्ट्र बैंकले अभियानको पहिलो दिन उपत्यकास्थित विभिन्न कलेजका सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, सहकारी विभागका का.मु. रजिष्ट्रार टोलराज उपाध्याय, राष्ट्र बैंकका उच्च अधिकारी लगायतको उपस्थिति थियो । यहि चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतना मूलक कार्यक्रमहरू सञ्चालन हुने भएका छन् ।

नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमार्पmत अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना हुने छन् । साथै, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोवल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

यसैगरी, निजी विद्यालयका छाता सङ्गठनलाई समेत विद्यालयस्तरमा वित्तीय चेतना मूलक कार्यक्रम सञ्चालनको निम्ति अनुरोध गरिएको छ । यस अभियानअन्तर्गत बैंकिङ-वित्तीय, पूँजी बजार, बीमा र सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम तय गरिएका छन् ।

उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवरद्धन, वित्तीय पहुँच विस्तार भई स्वरोजगार सिर्जना, उद्यमशीलताको विकास, उत्पादन र आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।