
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।
एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दाहालमाथि आफूहरुको विश्वास नभएको बताउनुभयो ।
माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर दाहालले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उहाँको आरोप छ । हिजो चुनावी तालमेल गरेपछि सरकार बनाउन नचाहेको र पार्टी एकता गरेपछि टिक्न नदिएको अध्यक्ष ओलीको आरोप छ ।
दाहाल नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न नसक्ने र विकास निर्माणले गति नलिने भन्दै अध्यक्ष ओलीले अहिले पनि कसैको बढुवा गर्नुपर्यो भने नातावाद, कृपावादको मानसिकता देखाउने गरेको जिकिर गर्नुभयो ।
यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते विश्वासको मत लिनुभएको थियो । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये दाहालले २६८ मत पाउनुभएको थियो ।
तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्