१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल व्यवसायीका समस्या सामाधान नगरे व्यवसाय बन्द गर्ने संघको चेतावनी


234
Shares

काठमाडौं । होटल संघ नेपालले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरेर बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै समस्या समाधानका लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो ।

संघले सरकारलाई होटल व्यवसायीका समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा समेत सामाधानको पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ । बैंक तथा वित्तीय संस्थाबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको संघले जनाएको छ ।

सरकारका नीति निर्माता, संवद्ध सरकारी निकायलगायत नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको समस्या समाधानका लागि गरिएको पटक पटकको बैठक, ज्ञापनपत्र, सुनुवाई लगायतका प्रयासबाट हालसम्म कुनै वाञ्छित नतिजा नआएको संघको दावी छ ।

पछिल्लो समय चालु खर्च समेत धान्न नसक्ने गरी होटलहरु घाटामा सञ्चालित रहेको भन्दै व्यवसायीले वार्षिक बजेटभन्दा बढी परिमाणको लगानी भइसकेको नेपाली होटल क्षेत्रलाई नेपाल सरकारले हालसम्म पनि उद्योग सरहको मान्यता समेत नदिनु खेदजनक रहेको जनाएको छ ।

सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको भन्दै संघले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको गुनासो गरेको छ ।