१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नरम कुटनीति भनेको चलचित्र हो : मन्त्री किराँती


130
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गर्नुभएको छ ।

सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताउनुभएको हो । उहाँले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताउनु भयो । उहाँले हिन्दी, चिनियाँ र अंग्रेजी जस्तै नेपालमा पनि फिल्म निर्माताहरुले उत्कृष्ट चलचत्रिहरु दिन आवश्यक रहेको बताउनु भयो ।

मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन मन्त्री किराँतीले आग्रह गर्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास गर्नसके आर्थिक स्थिति पनि सुधार बताउनुभयो ।

त्यस्तै नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलीकल हेरेर समाज रुपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको बताउनुभयो । उहाँले सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नती हुने बताउनुभयो ।

अध्यक्ष पाठकले नेपालमा भएका एयरलाइन्सहरुमा जहाज उड्दा विदेशी सिनेमा हेर्नुपर्ने अवस्था रहेको भन्दै जहाजमा नेपाली चलचित्रहरु देखाइनुपर्ने बताउनुभयो ।

अध्यक्ष पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटा सम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किराँतीलाई आग्रह गर्नुभयो ।