१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै


442
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार विश्वासको मत लिनु हुने भएको छ ।

बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक संसदबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

तर, वर्तमान सत्ता गठबन्धनमा पनि सहमति भने भईसकेको छैन । कांग्रेस केन्द्रमा सत्ता भागबण्डाको टुङ्गो लागेपछि मात्र विश्वासको मत दिने पक्षमा रहेको भने माओवादी विश्वासको मत लिने विषय टुंगो लगाईहाल्ने दौडमा रहेको छ ।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । राप्रपा बाहिरिएपनि अहिलेसम्म नेकपा (एमाले) भने सरकारबाट बाहिरिएको छैन ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । जसअनुसार एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाउनु भएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।

११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।