
काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न ११ दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।
दोस्रो पटक संसदबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य थालेपनि गठबन्धनमा सहमति जुट्न सकेको छैन् । प्रधानमन्त्री दाहालले सांसद संख्याको आधारमा भागबन्डा मिलाउने गरी प्रस्ताव अघि सार्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समावेश गराउने गरी भागबन्डाको खाका बनाउनुभएको हो । सांसदहरुको संख्याको आधारमा भागबण्डा मिलाउँदा १० मन्त्रालय दाबी गरेको कांग्रेसलाई ८ वटा दिने दाहालको प्रस्ताव छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ४ मन्त्रालय राख्दा यसअघि तीन मन्त्रालय पाएको जसपा र तीन वटै मन्त्रालयको दावी गरिरहेको नेकपा एकीकृत समाजवादीलाई दुई–दुई मन्त्रालय दिएर मनाउने प्रयास भइरहेको छ ।
मधेस प्रदेशको मुख्यमन्त्री र उपराष्ट्रपति पाइसकेकाले अहिले जसपा दुई मन्त्रालयमै सहमत हुने सम्भावना छ । यस्तै, कोसी प्रदेशको मुख्यमन्त्री दिएर नेकपा एकीकृत समाजवादीलाई पनि दुइटा मन्त्रालयमै मनाउने प्रयास छ । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको खण्डमा तीन मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।
यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीलाई पनि एकएक वटा मन्त्रालय दिने प्रधानमन्त्रीको प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस्