
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनैपर्छ’ राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको भन्दै राष्ट्रपति पौडेलले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीहरूलाई सुझाव दिनुभयो ।

सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष सिंहले राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा महासंघको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । हाल इफाप्काका अध्यक्ष समेत रहनु भएका अध्यक्ष सिंहले आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा हुने ४६ औं इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण समेत गर्नु भएको छ ।
महासंघ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की,जयराम लामिछाने, विरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), उपनिर्देशक निर्मल अर्याल लगायत रहनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्