
काठमाडौं । विशेष अदालतले कोशी यातायात कार्यालयका ११ जना कर्मचारीलाई राजस्व हिनामिना प्रकरणमा दोषी ठहर गर्दै कैद सजाय, विगो र जरिवाना तोकेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वयः शालिग्राम कोइराला तथा बलभद्र बास्तोलाको इजलासले उनीहरू विरुद्ध सजाय सुनाएको हो ।
सजाय सुनाईकाहरूमा चार जना उपसचिव, दुई जना अधिकृत र पाँच जना सहायक स्तरका कर्मचारी रहेका छन् ।
कोशी यातायात कार्यालयका तत्कालीन तीन जना उपसचिवलाई जनही आठ वर्ष कैद सुनाइएको छ भने एक उपसचिवलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ । यस्तै, दुई जना लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय तोकिएको छ ।
उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रूपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना तोकिएको छ । यस्तै, उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार रूपैयाँ बिगो तथा सोही मात्रामा जरिवाना असुल गर्न भनिएको छ ।
उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ रूपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना असुल्न अदालतले आदेश दिइएको छ । यस्तै, लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रूपैयाँ बिगो तथा अधिकृत टीकाराम अधिकारीलाई नौ वर्ष कैद तथा १४ करोड सात लाख ९६ हजार रूपैयाँ बिगो तोकिएको छ ।
यसैगरी, लेखा अधिकृत सुरेश अधिकारीलाई नौ वर्ष कैद र १५ करोड तीन लाख ९९ हजार रूपैयाँ बिगो तोकिएको छ भने लेखापाल देवराज नेपाललाई आठ वर्ष छ महिना कैद र ११ करोड २२ लाख ६३ हजार रूपैयाँ बिगो तोकिएको छ ।
विशेष अदालतले लेखापाल रुद्रप्रसाद दाहाललाई आठ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार रूपैयाँ बिगो तथा उपसचिव होमनाथ भट्टराईलाई साढे दुई वर्ष कैद र १४ लाख पाँच हजार रूपैयाँ बिगो तोकेको छ । यस्तै, लेखापाल मणिराज दाहाललाई विशेष अदालतले आठ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार रूपियाँ बिगो तथा दोब्बर जरिवाना गरेको छ भने सहलेखापाल टंकबहादुर खड्कालाई आठ वर्ष कैद दुई करोड २० लाख ५२ हजार रूपैयाँ बिगो तथा दोब्बर जरिवाना तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्