
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या ४ लाख नाघेको छ ।
सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका कोषले जनाएको छ । कोषले २०७५ मंसिर ११ मा सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।
कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७ हजार ७१८ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै कोशी प्रदेशबाट ३८ हजार ९५७, मधेस प्रदेशबाट २१ हजार २५८, गण्डकी प्रदेशबाट १५ हजार २४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट १ हजार ५२९ र कर्णाली प्रदेशबाट १ हजार २२८ श्रमिक सूचीकृत भएका छन् । कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको जनाएको छ । कोषमा १७ हजार ७३९ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म ३० अर्ब ११ करोड योगदान संकलन गरेको छ ।
कोषले विभिन्न योजना बापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ । पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ ।
औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्